FAQs Complain Problems

कोहलपुर नगरपालिकाको दोस्रो नगरसभा सम्पन्न

कोहलपुर,१० चैत/    बाँकेको कोहलपुर नगरपालिकाको दोस्रो नगरसभा तथा हिउँदे अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।

गत बुधबारदेखि सुरु भएको अधिवेशन सम्पन्न भएसँगै शुक्रबार कोहलपुरका सञ्चारकर्मीहरुसँग भेटघाट कार्यक्रमको आयोजना गरी नगर सभाबाट पास गरिएको महत्वपूर्ण ऐन, नियमावली, कार्यविधिबारे जानकारी गराइएको थियो ।

नगर सभाबाट सहकारी ऐन २०७४, कोहलपुर नगरपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्ने, न्यायिक समितिले उजुरीको कारबाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्ने बनेको विधेयक २०७४, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको कानुन २०७४, निर्णय वा आदेश र अधिकारपत्र, प्रमाणीकरण कार्यविधि नियमावली २०७४ पास गरिएको छ ।

त्यस्तै नगर सभाबाट नगर प्रहरीसम्बन्धी नियमावली, एफएम रेडियो व्यवस्थापन तथा सञ्चालन कार्यविधि २०७४, स्थानीय विपद् व्यवस्थापन कार्यविधि एकीकृत सम्पत्ति कर व्यवस्थापन २०७४, टोल विकास संस्था तथा समन्वय समिति गठन तथा परिचालन सम्बन्धी निर्देशिका २०७४, कोहलपुर नगरपालिका न्यायिक समिति सञ्चालन तथा स्थानीय राजपत्र २०७४ समेत पास गरिएको छ ।

त्यस्तै कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावतले नगर सभामा पत्रकारहरुलाई बाहिर जान अनुरोध गरिएको विषयमा नियतवस नभई भुलवश भनिएको बताए । ‘सञ्चारकर्मीहरुको सहयोगबिना हामी अधुरो हुन्छौं,’ उनले भने ।

उनले सहकार्य आवश्यक रहेको बताए । पत्रकार भेटघाट कार्यक्रममा कोहलपुर नगरपालिका सामाजिक विकास समितिको  संयोजक निमबहादुर चलाउनेले कोहलपुरका सञ्चारकर्मीहरुसँग सहकार्य गरेर अघि बढ्ने बताए ।

कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद देवकोटाले सुचना तथा विज्ञापन प्रसारणबारे जानकारी गराएका थिए । प्रवक्ता माधव रिजाल कार्यपालिका सदस्य भीमबहादुर नेपाली तथा कोहलपुरका सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

 

श्रोत: मिसन टुडे न्यूज