FAQs Complain Problems

कोहलपुरमा मनाइयो ६९ औ राष्ट्रिय प्रजातन्त्र दिवस !!!

कोहलपुर फागुन ०७
६९ औ राष्ट्रि प्रजातन्त्र दिवसका अबसरमा कोहलपुरमा मंगलबार कोहलपुर नगरपालिका स्तरीय समारोह समितिको आयोजनामा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । प्रभातफेरी कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरु, सुरक्षा कर्मीहरु, स्थानीय वुद्धिजीविहरु सर्वसाधारण , विभिन्न संघ संस्थाका प्रतिनिधिहरु ,वडाका वडाध्यक्षहरु ,कोहलपुर नगर कार्यपालिकाका सदस्य ,कर्मचारी , लगायतकोउपस्थित रहेको थियो । प्रभातफेरी पश्चात कोहलपुर चौराहमा भएको कोणसभा सहभागीहरुलाई स्वागत गर्दै कोहलपुर नगरपालिकाकी उप प्रमुख सन्जु कुमारी चौधरीले नेपालमा प्रजातन्त्र प्राप्तिका लागि आफ्नो जीवनलाई बलिदानी गर्ने सहिदहरुले देखाएको बाटो र सहिदका सपनाहरु पुरा गर्न हामी सबै जिम्मेवार बन्नु पर्ने बताइन् । उनले प्रजातन्त्र दिवसको दिन बि.स.२००७ सालमा नेपालमा प्रजातन्त्र स्थापना गराउनका लागि दशरथ चन्द, गंगा लाल,शुक्रराज र धर्मभक्त जस्ता व्यक्तिले आफ्ना प्राण उत्सर्ग गर्ने आँट नगरेको भए नेपालमा प्रजातन्त्र नआउन पनि सक्ने तर्क गरिन् । 

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा गरिएको कार्यक्रममा सहिदको बलिदानीपुर्ण इतिहासलाई सदा सम्झन आवश्यक रहेको प्रभातफेरी पछि आयोजित कोण सभालाई सम्बोधन गर्ने अधिकाशं वक्ताहरुले जोड दिएका थिए । प्रभातफेरीमा सहभागी सबैलाई धन्यवाद दिदै कोहलपुर नगरपालिका प्रमुख एवं नगरपालिका स्तरीय राष्ट्रिय प्रजातन्त्र दिवस समारोह समितिका संयोजक लूट बहादुर रावतले नेपालमा पूर्खाहरुको गौरव र बलिदानी पूर्ण इतिहासकै कारण आज सबै नेपाली जनताले आफ्नो हक अधिकारहरु प्राप्त गरेको बताउँदै अव देशको आर्थिक समृद्धिका लागि सबै एकढिक्का भएर लाग्नु पर्ने आवश्यकता औल्याए । रावतले भने ,‘प्रजातन्त्र हुँदै नेपाल अहिले गणतन्त्रमा आइसक्दा समेत नेपाली जनताले समृद्धि हासिल गर्न नसकेको प्रति हामी सबै चिन्तित् हुनु र आर्थिक रुपमा समृद्धि हासिल गर्न लाग्नु पर्दछ ’ । 

कोहलपुर चौराहबाट शुभारम्भ गरिएको प्रभातफेरी नगरका बिभिन्न भाग परिक्रमा गर्दै पूनः कोहलपुर चौराहमा पुगी कोण सभामा परिणत भएको थियो । कोण सभामा नगर प्रमुख लुट बहादुर रावत, नगर उप प्रमुख सञ्जु कुमारी थारु, नेकपाका अशोक कोइराला, नेपाली काँगे्रसका बलराम शर्मा , कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारी , नेमकिपाका अञ्जिर बहादुर शाही लगायतले प्रजातन्त्र प्राप्तिको सन्दर्भका भएको बलिदानीको चर्चा गरेका थिए ।

कार्यक्रमको सञ्चालन नगर कार्यपालिका आर्थिक विकास संयोजक डिल बहादुर परियारले गरेका थिए ।