FAQs Complain Problems

समाचार

कोहलपुर नगरपालिकाको संक्षिप्त परिचय

कोहलपुर नगरपालिकाको सङ्क्षिप्त चिनारी

  1. भौगोलिक स्थिति, क्षेत्रफल र सिमाना : संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ प्रशासनिक संरचना अनुसार कोहलपुर नगरपालिका लुम्बिनी प्रदेश को बाँके जिल्लामा पर्दछ । पृथ्वीको गोलार्द्धका आधारमा कोहलपुर नगरपालिका २८ डिग्री ७ मिनेट १२ सेकेण्ड देखि १८ मिनेट ५४ सेकेण्ड उत्तरी अक्षांस तथा ८१ डिग्री ३८ मिनेट २४ सेकेण्ड देखि ८१ डिग्री ४९ मिनेट ५१.६ सेकेण्ड पूर्वी देशान्तरमा रहेको छ । यो नगरपालिका नेपालको मध्यपश्चिम तराई क्षेत्रमा पर्दछ । नगरपालिकाको कुल क्षेत्रफल १८४.२६ वर्ग की.मी. छ । कोहलपुर नगरपालिकाको पूर्वमा राप्तीसोनारी गाउँपालिका, पश्चिममा बैजनाथ गाउँपालिका, उत्तरमा सल्यान जिल्लाको चुरे पहाड श्रृंखला र दक्षिणमा जानकी गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिका पर्दछ । बाँके जिल्लाको सदरमुकाम शहर नेपालगञ्ज देखि १० की.मी. उत्तरपट्टि रहेको कोहलपुर नगरपालिका साविकमा भेरी अञ्चल तथा मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा पर्दथ्यो ।
  2. कोहलपुरको नामाकरण : यस नगरपालिकाको नाम तेल पेल्ने कोलबाट भएको हो भन्ने विश्वास छ । कोल भनेको तेलहन जस्तै तोरी, आलस आदि पेलेर तेल उत्पादन गर्ने काठैकाठले बनेको घरेलु यन्त्र हो ।
  3. नगरपालिकाको स्थापना : विं. स. २०७१ वैशाख २५ गतेको नेपाल सरकार मन्त्रिपरिषदको निर्णय बमोजिम औपचारिक रुपमा साविकको कोहलपुर गाविस र रझेना गाविस वि.सं. २०७१ ज्येष्ठ ७ का दिन गाभिएर यस कोहलपुर नगरपालिकाको स्थापना भएको हो । पछि समसेरगन्ज गाविसको केही भाग वि.सं. २०७३ मा कोहलपुर नगरपालिकामा समायोजन भएको हो ।
  4. प्रशासनिक विभाजन : कोहलपुर नगरपालिका सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल, लुम्बिनी प्रदेशको बाँके जिल्लामा पर्दछ । यस नगरपालिकामा जम्मा १५ वटा वडाहरु रहेका छन् । निर्वाचन क्षेत्र विभाजनका आधारमा कोहलपुर लुम्बिनी प्रदेशको निर्वाचन क्षेत्र नं. १ को “ख” तथा प्रतिनिधी-सभा निर्वाचनको क्षेत्र नं. १ मा पर्दछ ।
  5. जनसङ्ख्या र जनजाति समुदाय :  राष्ट्रिय जनगणना २०७८ अनुसार कोहलपुर नगरपालिकामा कुल घरपरिवार २४,१८३ तथा कुल जनसङ्ख्या १,०१,६६७ रहेको छ । जाति समुदायका आधारमा कोहलपुरमा कुल जनसङ्ख्या मध्ये क्षेत्री (२४.२ प्रतिशत), थारु (२०.२ प्रतिशत), ब्राह्मण पहाडी (१४.३ प्रतिशत), ठकुरी (९.२ प्रतिशत), मगर (८.६ प्रतिशत), विश्वकर्मा (७.६ प्रतिशत) मुसलमान (२.८ प्रतिशत), परियार (२.३ प्रतिशत) यादव (१.३ प्रतिशत), सन्यासी/ दसनामी (१.३ प्रतिशत), नेवा (नेवार १.१ प्रतिशत), ब्राह्मण तराई (१ प्रतिशत), गुरुङ्ग (०.८ प्रतिशत), खटिक (०.७ प्रतिशत), चमार/हरिजन/राम (०.६ प्रतिशत), मिजार (०.६ प्रतिशत), गडेरी/भेडियार (०.३ प्रतिशत), धोबी (०.२ प्रतिशत), विदेशी (०.२ प्रतिशत), चिडिमार (०.२ प्रतिशत), गाइने (०.२ प्रतिशत), बादी (०.२ प्रतिशत), सुनुवार (०.२ प्रतिशत), तामाङ्ग (०.२ प्रतिशत), सोनार (०.२ प्रतिशत), बराई (०.१ प्रतिशत), राजबंशी (०.१ प्रतिशत), माझी (०.१ प्रतिशत), कुर्मी (०.१ प्रतिशत), लोहार (०.१ प्रतिशत), राई (०.१ प्रतिशत), राजपुत (०.१ प्रतिशत), कुमाल (०.१ प्रतिशत), बनिया (०.१ प्रतिशत  र अन्य  (०.१ प्रतिशत)  समुदायका मानिसहरु बसोबास गर्दछन् ।
  6. भाषाभाषी समुदाय: कोहलपुर नगरप्रोफाइलअनुसार कोहलपुर नगरपालिकाको  कुल जनसङ्ख्यामध्ये नेपाली भाषी ४४.९ प्रतिशत, मैथली ११ प्रतिशत, भोजपुरी ६.२ प्रतिशत, थारु ५.९ प्रतिशत, तामाङ्ग ४.९ प्रतिशत, बज्जिका ३.९ प्रतिशत, अवधी ३ प्रतिशत, नेपाली भाषा (नेवारी) ३ प्रतिशत, मगर ढुट २.८ प्रतिशत , उर्दु/नेपाली भाषा (नेवारी)/ खश/ मैथली/ गुरुङ्ग/ भोजपुरी/ मगर खाम/ तामाङ्ग/ जुम्ली/ संस्कृत/ मुसलमान/ राई/ बज्जिका/ डोटेल र अन्य भाषाका गरी जम्मा १८.३ प्रतिशत रहेका छन् ।
  7. हावापानी : यस क्षेत्रको हावापानी उपोष्ण कटिबन्धीय (subtropical) क्षेत्रमा पर्दछ । यस नगरपालिका क्षेत्रको अधिकतम तापक्रम ग्रिष्म ऋतुमा ४६ डिग्री र न्यूनतम तापक्रम हिउँदमा ४ डिग्री सेल्सियस सम्म पुग्छ । यहाँ वार्षिक सरदर वर्षा १९१२ मि.मि. हुने गर्दछ । सापेक्षित आद्रता औषत ७१.४ प्रतिशत रहन्छ ।
  8. यातायात : कोहलपुरबाट नेपालगन्ज, कर्णाली प्रदेश, पश्चिमको सिमाना कन्चनपुर गड्डाचौकी र पूर्वमा बुटवल, नारायणघाट हुँदै काठमाडौलगायत पूर्वी नेपालका विभिन्न शहरहरु जाने पक्की सडक यातायातको सुविधा छ । यहाँबाट सुर्खेत ८५ किलोमिटर,  महेन्द्रनगर २०० किलोमिटर र काठमाडौ ५३५ किलोमिटरको दूरीमा पर्दछन् । कोहलपुरमा पूर्वपश्चिम महेन्द्र राजमार्ग तथा नेपालगन्जबाट सुर्खेत हुँदै कर्णाली प्रदेश जाने रत्न राजमार्ग मिल्ने चारवटा बाटोको मिलनविन्दु (चौराह) रहेको छ । त्यसैले कोहलपुरलाई यातायात सुविधाका हिसाबले महेन्द्र राजमार्गबाट सुदुर पश्चिम तथा कर्णाली प्रदेश जाने प्रवेशद्वारका रुपमा लिइन्छ । कोहलपुर नगरपालिका क्षेत्रभित्र समेत एक ठाउँबाट अर्को ठाउँ जानका लागि बाह्रै महिना मोटरगाडी चल्ने सडक मार्गहरु छन् । यहाँबाट १३ किलोमिटर दूरीमा नेपालगन्ज एअरपोर्ट रहेको छ । यस एअरपोर्टबाट काठमाडौ र कर्णाली तथा सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा जाने हवाइजहाजहरु चल्दछन् । कोहलपुरमा दुर्गम पहाडी जिल्लाहरुबाट बिरामी ल्याउन र आपतकालीन उद्दार कार्यका लागि हेलीप्याडहरु रहेका छन् ।
  9. नदीनाला तथा तालतलैया : यस नगरपालिका क्षेत्रको करिब ६० किलोमिटर क्षेत्रमा डुडुवाखोला, किरणनाला, सानो डुडुवानाला, इटानाला, रोहीणीखोला, रानीघाट लगायतका खोलाहरु बग्ने गर्दछन् । भूतैया ताल, जोरत्ते टप्पर, जोरत्ते सिमसार क्षेत्र र ताल यस नगरपालिकामा रहेका तातलैयाहरु हुन् ।
  10. धार्मिक स्थलहरु : कोहलपुर धार्मिक विविधतायुक्त शहर हो । यहाँ धार्मिक सहिष्णुता झल्काउने विभिन्न धर्मावलम्बीहरुको धार्मिक स्थलहरु रहेका छन् । यस नगरपालिकामा कालिका मन्दिर, शिवमन्दिर, मनकामना मन्दिर, शिवालय, राधाकृष्ण मन्दिर, वैष्णोदेवी मन्दिर, जगन्नाथ किरण भवानी, रामजानकी मन्दिर, रानीघाट मन्दिर लगायतका दर्जनौँ हिन्दू धर्मवालम्बीहरुका मन्दिरहरु छन् । विलिभर्स चर्च, बेथेल चर्च, गेश्चमी चर्च आदि क्रिश्चियन धर्मवालम्बीहरुका प्रमुख चर्चहरु हुन् ।  जहामिया मस्जिद, जहाँमिया कादरी आदि यहाँका मुस्लिम धर्मवालम्बीहरुका धार्मिक स्थलहरु हुन् ।  साथै यहाँ बुद्ध धर्मवालम्बीहरुको बौद्ध स्तुप पनि रहेको छ ।
  11. खेल मैदान : यहाँ फराकिला खेल मैदानहरु रहेका छन् । अन्तरराष्ट्रिय क्रिकेट मैदान, तेह्र बिघा फुटबल मैदान, कोहलपुर बजारस्थित शहिद मञ्च आदि यहाँका मुख्य खेल मैदानहरु हुन् । यसबाहेक केही माध्यमिक विद्यालयहरुमा समेत प्रशस्तै फराकिला खेल मैदानहरु रहेका छन् ।
  12. उपलब्ध सरकारी सेवा तथा सुविधा :  कोहलपुर सुविधायुक्त आधुनिक शहरका रुपमा विकसित हुँदै गइरहेको नगरपालिका हो । यहाँ नगर कार्यपालिकाको कार्यालय, नगरकार्यपालिकाका शाखा कार्यालय र वडाकार्यालयहरु रहेका छन् । यहाँ सङ्घीय सरकार र प्रदेश सरकारका विभिन्न क्षेत्रीय कार्यालय र सरकारी संस्थानहरु रहेका छन् । इलाका प्रशासन, पर्यटन कार्यालय, इलाका प्रहरी कार्यालय, क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, सशस्त्र प्रहरी गण, नेपाली सेनाको मध्यपश्चिम पृतना तालिम शिक्षालय, उच्च माध्यमिक शिक्षा परिषद्, आन्तरिक राजस्व अनुसन्धान कार्यालय, बाँके राष्ट्रिय निकुञ्ज, स्वास्थ्य चौकी र आयुर्वेद औषधालय यहाँका प्रमुख सरकारी कार्यालयहरु हुन् । नेपाल राष्ट्र बैङ्कको क्षेत्रीय भवन निर्माणाधीन अवस्थामा रहेको छ ।
  13. सङ्घीय तथा प्रदेश सरकारका कार्यालयहरु: इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, राष्ट्रिय परीक्षा बोर्ड, प्रविधिक तथा व्यावसायिक तालिम परिषद्को क्षेत्रीय कार्यालय, बाँके राष्ट्रीय निकुञ्ज यहाँ रहेका सङ्घीय सरकारका कार्यालयहरु हुन् । प्रदेश सरकारको क्षेत्रीय पर्यटन बोर्डको कार्यलय रहेको छ ।
  14. सरकारी संस्थानहरु : नेपाल विद्युत प्राधिकरण, नेपाल टेलीकम, नेपाल टेलिभिजन क्षेत्रीय प्रशारण सेवा, गोरखापत्र संस्थान क्षेत्रीय कार्यालय, राष्ट्रिय वाणिज्य बैङ्क, नेपाल बैङ्क लिमिटेड, कृषि विकास बैङ्क आदि यस नगरपालिकामा रहेका प्रमुख सरकारी संस्थानहरु हुन् ।
  15. खानेपानी: कोहलपुर साना शहर खानेपानी आयोजना, विराट खानेपानी आयोजना नगरपालिकामा सञ्चालित खानेपानी आयोजनाहरु हुन् । यी आयोजनाहरुले नगरपालिकामा भूमिगत पानी तानेर पाइपमार्फत् खानेपानी उपलब्ध गराएका छन् ।
  16. स्वास्थ्य सेवा : कोहलपुर नगरपालिकामा एक वटा मेडिकल कलेज, ३ वटा स्वास्थ्य चौकी, ३ वटा निजी अस्पताल, १ आयुर्वेद औषधालयहरु रहेका छन् । हालै कोहलपुर नगरपालिकाबाट १५ शैय्याको एक कोभिड अस्पताल निर्माण भई सञ्चालनमा आएको छ ।
  17. विद्युत र सञ्चार माध्यम : यस नगरपालिकाका प्राय: सबै वडाका शहर-बजार र ग्रामीण बस्तीहरुमा नेपाल विद्युत प्राधिकरणको केन्द्रिय प्रशारणबाट विद्युत सेवा उपलब्ध छ । नगरपालिकाको प्राय: सबै बजार क्षेत्रमा नेपाल टेलीकमबाट लेन्डलाइन, प्रिपेड र पोस्टपेड मोबाइल फोन सेवा तथा एडीएसएल इन्टरनेट सेवा उपलब्ध छ । एलसेलबाट टेलीकमबाट प्रिपेड मोबाइल फोन सेवा तथा डाटा इन्टरनेट सेवा उपलब्ध छ । यसका अतिरिक्त कोहलपुरमा अप्टिकल फाइबरबाट घर अफिसहरुमा इन्टरनेट उपलब्ध गराउने सेवा प्रदायक कम्पनीहरु समेत रहेका छन् । नेपालको आधिकारिक तथा सरकारी राष्ट्रिय दैनिक समाचारपत्र गोरखापत्र दैनिकको पश्चिमाञ्चल संस्करण कोहलपुरबाट नै प्रकाशित हुन्छ । यसैगरी कान्तिपुर, नागरिक न्युज पश्चिम टुडे, समाचारपत्र दैनिक, नयाँ पत्रिका दैनिक हरेक दिन बिहान उपलब्ध हुने राष्ट्रिय पत्रिकाहरु हुन् । मिसन टुडे, युगयान दैनिक यहाँका स्थानीय बजारबाट प्रकाशित हुने प्रचलित पत्रिकाहरु हुन् ।
  18. रेडियो प्रसारण सेवा : कोहलपुरमा रेडियो नेपालको केन्द्रिय तथा क्षेत्रीय मिडियम वेभ (५७६ किलो हर्ज  सुर्खेत)  तथा एफएम (१०० मेगाहर्ज चमेरे डाँडा) प्रसारण सेवा सुन्न सकिन्छ ।  यसका अतिरिक्त कोहलपुर एफएम (१०१.२ मेगाहर्ज), प्रतिबोध एफएम (१०२.४ मेगाहर्ज) र रेडियो मिसन (१०३.५ मेगाहर्ज) ले स्थानीय स्तरमा शहरबासीका लागि राष्ट्रिय, स्थानीय र अन्तरराष्ट्रिय समाचार, मनोरञ्जन, अन्तरवार्ता, स्थानीय गतिविधिका लाइभ रिपोर्टङ, शैक्षिक तथा सामुदायिक जागरणका कार्यक्रम तथा व्यापार-व्यवसाय प्रबर्द्धनका विज्ञापनहरु प्रसारण गर्ने गर्दछन् । यी प्रसारणहरु सम्बन्धित रेडियोबाट निर्मित इन्टरनेट वेबसाइट तथा सामाजिक सञ्जालका लिङ्कहरुमार्फत् समेत सुन्न सकिन्छ ।
  19. टेलिभिजन प्रसारण सेवा : कोहलपुरमा नेपाल टेलिभिजनको क्षेत्रीय प्रसारण केन्द्र रहेको छ । यस प्रसारण केन्द्रबाट नेपाल टेलिभिजनको केन्द्रिय प्रसारण लगायत कोहलपुर टीभी नामक अलग्गै च्यानलबाट समेत श्रव्यदृश्य कार्यक्रमहरु प्रसारण हुन्छ। यी प्रसारणहरु इटरनेटलगायत स्थानीय टेलिभिजन केबुल सेवा र डिस सेवामार्फत् टिभीमा हेर्न र सुन्न सकिन्छ ।
  20. समुह र सञ्जाल :  यस कोहलपुर नगरपालिकामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको टोल पढाइ समुह, लक्षित वर्ग सञ्जाल, बाल सञ्जाल, बाल क्लब, सामुदायिक वन उपभोक्ता समिति, स्थानीय युवा क्लब, आमा समुह, बचत तथा स्वावलम्बन, दारी ग्याङ आदि जस्ता सङ्गठित तथा सङ्गठित समुहहरू सामाजिक सेवाका विभिन्न सम्बन्धित कार्यहरुमा क्रियाशील छन् । यसका साथै यस नगरपालिकामा सुशासन, स्थानीय शासन, सामाजिक मेलमिलाप लगायतका विभिन्न विषयगत क्षेत्रमा विभिन्न गैरसरकारी संघसंस्थाहरूले विभिन्न विकास निर्माण तथा सचेतीकरण सम्बन्धी कार्य गरिरहेको पाइन्छ ।
  21. युवा तथा खेलकुद : यस नगरपालिका क्षेत्र भित्र १० वटा युवा क्लबहरु क्रियाशिल रहेका छनु, जसमा ७७७ जना युवाहरु आबद्ध रहेका छन् । यसै गरी नगर क्षेत्रमा २८ वटा बालक्लबहरु गठन भई क्रियाशिल रहेका छन् । उक्त क्लबहरुमा ५२७ जना बालबालिका आवद्ध रहेका छन् र सो मध्ये बालिकाका अनुपात ५८ प्रतिशत रहेको छ । नगर क्षेत्र भित्र वडा नं. ११ मा क्रिकेट खेलमैदान र वडा नम्बर १३ रानीघाटमा खेलमैदान रहेको छ । यसै गरी नगर क्षेत्रको विभिन्न ७ स्थानमा खेलकुद, मनोरञ्जन स्थलहरु रहेका छन् ।
  22. सूचना, संचार तथा प्रविधि : नगरपालिका क्षेत्रमा ल्याण्डलाइन टेलिफोन लाइन संख्या २६५६, एडिएस सेवा ७९९, जिएसएस पोष्टपेड मोबाइल १६६५, जिएसएस, प्रिपेड मोबाइल ५१४९० र स्काई प्रिपेड मोबाइल ६८२४ रहेको छ । नगरपालिका बासिन्दा कूल घरपरिवार मध्ये ८३ प्रतिशतसँग टेलिभिजन, ३१ प्रतिशत घरपरिवारसँग कम्प्युटर र १३ प्रतिशतसँग इन्टरनेट सेवाको पहुँच उपलब्ध रहेको छ । नगरपालिकाको १५ वटै वडा कार्यालयहरुमा इन्टरनेट सेवा उपलब्ध रहेको छ । नगरपालिकाको रझेना, कोहलपुर, सम्शेरगञ्ज समेत ३ वटा स्वास्थ्य संस्थामा मा मात्र इन्टरनेट रहेको छ भने ६ वटा माद्यामिक विद्यालयमा इन्टरनेट सुविधा उपलब्ध रहेको छ । नगर कार्यपालिका कार्यालमा दर्ता चलानी, व्यवसाय दर्ता, राजस्व, लेखा, जीन्सि, कर्मचारी व्यवस्थापन प्रणाली, इएचएमआईएस, इएमआइस, संस्था दर्ताको कम्प्युटर सफ्टवयर उपलब्ध रहेको छ । नगरपालिकाको आफ्नै इन्टरएक्टिभ वेवसाइट तथा मोबाइल एप्स् रहेको र सो मार्फत सूचनाहरु नियमित रुपमा अद्यावधिक भैरहेको छ।
  23. कोभिड-१९ तथा विपद् व्यवस्थापन : यस नगरपालिका क्षेत्रमा विभिन्न विपद जोखिमहरु मध्ये हुरीवतास, आगलागी, बाढी, सडक दुर्घटना, भुकम्प र सर्पदंशको असर प्रमुख रुपमा देखिएका छन् । उपरोक्त विपद् जोखिमहरुमा हाल विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड-१९ को असर मुख्य हुन गएको छ । विपदको रोकथाम तथा पूर्व तयारी, प्रतिकार्य र पुनःस्थापना तथा पुनःर्लाभ सम्बन्धी नीतिगत र व्यवहारिक रुपमा सम्बोधनको लागि नगरपालिकामा नगरस्तरी विपद् व्यवस्थापन समिति गठन भएको छ भने स्थानीय आपतकालिन कार्य संचालन केन्द्र स्थापना भई संचालनमा रहेको छ । नगरपालिकाको संवेदनशिल क्षेत्रमा डुवान र चट्याङ्गको लागि पुर्व सूचना यन्त्र जडान गरिएको छ । विपद प्रतिकार्यको लागि नेपाल रेडक्रस सहजीकरणमा नगरपालिकाको विपद् प्रतिकार्य योजना निर्माण भएको छ । प्रत्येक वडाहरुमा रेडक्रसकर्मी तथा स्वयंसेवकको रुपमा परिचालन गरिएको छ । कोभिड-१९ महामारीको रोकथाम, नियन्त्रणको लागि कोभिड अस्पतालको निर्माण भएको छ । नगरपालिका र रेडक्रसको समन्वयमा क्वारेन्टाईन र आइसोलेशन वार्डको व्यवस्थापन गरिएको छ । जलवायुजन्य प्रकोप रोकथाम र नियन्त्रणका लागि मौसमी क्यालेन्डर तयार गरी सार्वजनिक गरिएको छ ।
  24. सम्भावना : भौगोलिक, आवासीय, व्यावसायिक र शैक्षिक संगमस्थलको रुपमा विकासः पश्चिम नेपालको रणनीतिक महत्वको स्थानमा अवस्थित यस नगरपालिकाले भौगोलिक, आवासिय, व्यावसायिक र शैक्षिक संगमस्थलको विशेषता वोकेको छ । यो नगरपालिका जैविक विविधता र संरक्षणको दृष्टिकोणले महत्वपूर्ण बाँँके राष्ट्रिज निकुञ्जसँग जोडिएको र अन्तराष्ट्रिय रुपमा परिचित बर्दिया राष्ट्रिय निकुञ्ज समिपमा रहेको छ । लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको प्रवेशद्धारको रुपमा समेत रहेको हुँदा यसलाई प्रदेश तथा नेपालकै नमूना आवासीय र व्यासायिक केन्द्रको रुपमा विकास गर्ने संभावना रहेको छ । तसर्थ उपरोक्त विशेषता अनुसार यस नगरपालिकालाई नेपालको एक नमूनाा भौगोलिक, आवासिय, व्यावसायिक र शैक्षिक शहरको रुपमा विकास गरिनेछ ।
  25. समस्या तथा चुनौती : पूर्ण साक्षरता घोषित यस नगरपालिकामा गुणस्तरीय, व्यवसायिक र जीवपयोगी शिक्षा प्रदान गर्ने सामुदायिक विद्यालयहरु विकास हुन सकेको छैन । समुदायको जनसंख्याको आधारमा सामुदायिक विद्यालयको समानुपातिक वितरण हुन नसकेको अवस्था रहेको छ । यस नगरका अधिकांश विद्यालयमा विद्यार्थी शिक्षक अनुपात उपयुक्त रहेको छैन भने विद्यार्थी संख्या अनुसार शिक्षकको व्यवस्था गर्नु पर्ने आवश्यकता रहेको छ । शिक्षाको क्षेत्रमा ठुलो संम्भावना बोकेको यस नगरमा २ वटा मात्र विद्यालयमा मात्र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम सञ्चालन हुनु अर्को समस्याको रुपमा देखिएको छ । विद्यालयमा छात्रा मैत्री शौचालयको व्यवस्था, सेनिटरी प्याडको व्यवस्था र बाल तथा अपांगमैत्री पुर्वाधारको व्यवस्था नभएका कारण प्रायः जसो विद्यालयमा वालमैत्री संरचना र सिकाई लागू हुन सकिरहेको छैन । विद्यालय छोड्ने दर दिनप्रति दिन बढ्नु, वालविकास केन्द्रहरुमा बालमैत्री सिकाई तथा खेलकुद र मनोरञ्जनको लागि पूर्वाधार र सुविधा उपलब्ध नहुनु, वडास्तरमा सामुदायिक सिकाइ केन्द्रको स्थापना हुन नसक्नु पनि चुनौतीको रुपमा रहेको देखिन्छ । आफ्ना बालबालिकाको शैक्षिक स्थितिका बारेमा अविभावकहरुमा यथोचित चासो नभएका कारण विद्यार्थीमा शिक्षाप्रति नकारात्मक सोच र अनुशासित विहिनता अवस्था समेत देखिन थालेको छ । विद्यालय व्यवस्थापन समिति तथा शिक्षकबीच सुझबुझ तथा समझदारी निर्माणमा कठिनाई रहेको र प्रधानाध्यापक तथा शिक्षक बीच तहगत बेमेलका कारण शैक्षिक वातावरणमा सुधार हुन सकेको छैन । शिक्षक तथा विद्यार्थीको नियमितता, विज्ञान प्रयोगशाला, कम्प्युटर, शिक्षक र सुचना प्रविधि साधनहरुको उपलब्धता, पुस्तकालयको अभाव, शैक्षिक संग्रालय स्थापना नहुनु र अतिरिक्त क्रियाकलापमा नियमितताको कमीका कारण गुणस्तरीय शिक्षामा नकारात्मक प्रभाव परिरहेको छ । यसका साथै विद्यमान शिक्षा प्रणाली साक्षरता उन्मुख भएको तथा बजार र समयको माग अनुसारको जीवनपयोगी, व्यवसायिक र रोजगारमूलक पाठ्यक्रम तथा शैक्षिक प्रणाली अनुसार पठनपाठन नहुँदा पढाइ छाडनेहरुको सङ्ख्या बढेकै छ ।

कोहलपुरको समग्र शैक्षिक स्थिति

  1. विद्यालय स्थापनाको शैक्षिक इतिहास: कोहलपुर नगरपालिकामा सर्वप्रथम स्थापना भएको विद्यालय हालको त्रिभुवन माध्यमिक विद्यालय नै हो । यस विद्यालयको स्थापना वि.सं. २०१६ मा शिक्षाप्रेमी  हरिप्रसाद रावतको अगुवाइमा चटार गाउँको खुला चौरको एक खरको झुप्रोमा ने.रा.प्राथमिक विद्यालय सञ्चालन भएको थियो । राष्ट्रिय शिक्षा पद्धति योजना २०२८ सालबाट शुरु भएता पनि बाँके जिल्लामा वि.सं. २०२९ सालदेखि लागू भयो । त्यसपछि वि.सं. २०३२ सालमा यस विद्यालयलाई अहिले भएको स्थान (कोहलपुर नगरपालिका वार्ड नं ११ स्थित नेपालगञ्ज रोड) मा सारियो । यसपछि यो मावि वि.स. २०३४ सालमा निमावि र २०३४ सालमा माध्यमिक विद्यालय भएको हो । यसै गरी हालको लक्ष्मी मावि वि.सं. २०१६ सालमा साविक रझेना गाउँ पञ्चायतको वार्ड नं. ४ बर्दहवा स्थित पिपलको बुटामुनि पढाइ शुरु गरी ने.रा.प्राथमिक विद्यालयको नामबाट स्थापना भएको थियो । छोटेलाल थारु यस विद्यालयका संस्थापक अध्यक्ष हुन्। पछि वि.सं. २०५६ सालमा यो विद्यालय निम्नमाध्यमिक बन्यो र लक्ष्मी निमावि नामाकरण गरियो र वि.सं २०६३ सालमा मावि भयो । विद्यालयहरुको स्थापना सालको कालक्रम हेर्दा यसपछि वि.सं. २०१८ सालमा जनता मावि मैटहवा स्थापना भयो । लगभग १० वर्षको लामो समयपछि वि.सं. २०२८ मा राम मावि र २०२९ मा सरस्वती मावि स्थापना भए । अर्को ८ वर्षपछि वि.सं. २०३७ मा खडगवार र २०४० मा ने.रा.नामले दुईवटा विद्यालयहरु स्थापना भए । वि.सं. २०४० देखि २०५० को दशकमा ११ वटा र वि.सं. २०५१ देखि २०६० साल बीचको १० वर्षको अवधिमा ८ वटा विद्यालयहरु स्थापना भए । यस्तै वि.सं. २०६१ र ६३ सालमा एक वटा गुठी र दुईवटा सामुदायिक, २०६४ मा ३ वटा र २०७५ मा एक विद्यालयको स्थापना भए । यसरी हेर्दा वि.सं. २०४०-५० र २०५०-६० को दुईवटा दशकमा १८ वटा विद्यालयहरु स्थापनाको लागि सबै भन्दा उर्वर समय भएको पाइन्छ । जम्मा ५९ वर्षको अविधमा कुल मिलाएर ३० वटा सामुदायिक र एक वटा गुठी विद्यालय स्थापना भएको पाइन्छ । उक्त ३१ वटा विद्यालयहरुमध्ये २०१६ देखि २०६१ सालबीचमा स्थापना भएका १२ वटा विद्यालयहरु माध्यमिक भएका छन् । २०४० देखि २०५८ सालबीच स्थापना भएका ६ वटा विद्यालयहरु निम्नमाध्यमिक भएका छन् । वि.सं. २०४४ देखि २०६४ साल बीचमा खुलेका बाँकी १२ वटा विद्यालयहरु २० वर्षको अवधिमा प्राथमिक तहमै यथावत् रहेको देखिन्छ । कोहलपुरमा विद्यालयको स्थापनाको ५९ वर्ष लामो शैक्षिक इतिहासमा तुलनात्मक रुपमा सामुदायिक विद्यालयहरुले अपेक्षित विकास गर्न अझै धेरै काम गर्न बाँकी देखिन्छ ।
  2. सामुदायिक विद्यालय : कोहलपुर नगरपालिका क्षेत्रमा कुल ३० वटा सामुदायिक विद्यालयहरु छन् । यसमध्ये २८ वटा विद्यालय अन्तरगत ८१ वटा बालविकास केन्द्रहरु छन् । कक्षा १ देखि १२ सम्म पठनपाठन हुने ५ वटा र कक्षा १ देखि १० सम्म पठनपाठन हुने ६ वटा सामुदायिक माध्यमिक विद्यालयहरु छन् । यसै गरी कक्षा १ देखि ८ सम्म पठनपाठन हुने ७ वटा आधारभूत विद्यालयहरु र  कक्षा १ देखि ५ सम्म पढाइ हुने १२  वटा सामुदायिक प्राथमिक विद्यालयहरु रहेका छन् ।  उक्त विद्यालयहरुमा बालविकास तहदेखि कक्षा १२ सम्म कुल १५१७८ जना विद्यार्थीहरु अध्ययनरत छन् । स्थायी, अस्थायी, राहत तथा नगरपालिका अनुदान समेत गरी कुल ३७६ जना शिक्षक, ११ जना लेखा कर्मचारी र २८ जना कार्यालय सहयोगीहरु कार्यरत रहेका छन् ।
  3. विद्यालय सञ्चालन (पठनपाठन तथा शिक्षक उपस्थिति दिन) को स्थिति :  कोहलपुरमा रहेका आधारभूत (साविक प्राथमिक तथा निम्नमाध्यमिक) तथा माध्यमिक विद्यालयहरु शैक्षिक सत्र २०७६ अवधिमा अधिकतम  २५५ दिन, न्युनतम २१३ दिन तथा औसतमा २२४ दिन खुलेको पाइएको छ । विद्यालय खुलेको दिन मध्ये पढाइ भएको दिन अधिकतम ९९ प्रतिशत, न्युनतम् ८२ प्रतिशत तथा औसतमा ८९ प्रतिशत रहेको छ । यसैगरी अनिवार्य विषयहरु शिक्षण गर्ने शिक्षकहरुको उपस्थिति अधिकतम् २२६ दिन, न्युनतम १८३ दिन तथा औसत २०५ दिन रहेको छ ।
  4. खुला विद्यालय : विभिन्न कारणले बीचैमा पढाइ छाडेर विद्यालय बाहिर रहेका तर पछि विद्यालयको औपचारिक शिक्षालाई निरन्तरता दिन चाहने विभिन्न उमेरका व्यक्तिरुका लागि सञ्चालन गरिने विद्यालय नै खुला विद्यालय हो । खुला विद्यालबाट प्रदान गरिने शिक्षालाई खुला शिक्षा पनि भनिन्छ । यस्ता विद्यालयमा पढने व्यक्तिहरुले आफ्नो दैनिक पेसा व्यवसाय गर्दै घरैमा बसेर शिक्षा आर्जन गर्न पाउँछन् र कक्षा ८ र एस.ई को परीक्षा समेत दिन पाउँछन् । यो एउटा वैकल्पिक शिक्षा प्रणाली पनि हो । यस्तो शिक्षाले एकै पटकमा धेरै जनाको लक्षित समुहलाई समेट्न सक्छ । यो कम खर्चिलो हुन्छ । पढनेहरुले पनि आआफ्रनो समय, सिकाइ गति, क्षमता र फूर्सद अनुसार पढन पाउँछन् । नेपालमा हाल ८४ वटा खुला विद्यालहरु सञ्चालनमा रहेका छन् । राष्ट्रिय शिक्षा नीति, २०७५ मा खुला शिक्षाको अवसर विस्तार गर्ने रणनीति छ । कोहलपुरको त्रिभुवन माध्यमिक विद्यालयमा खुला शिक्षा सञ्चालनमा रहेको छ । उक्त विद्यालयमा सञ्चालित खुला शिक्षामा हाल निमावि तहमा ५ (छात्र २ र छात्रा ३) जना र मावि तहमा ४८ (छात्र २८ जना र छात्रा २०) जनाले अध्ययन गरिरहेका छन् । नेपालमा वि.सं. २०७३ मा खुला विश्वविद्यालयको समेत स्थापना भएको छ ।
  5. साक्षरता स्थिति :  कोहलपुर साक्षर नगरपालिका हो । समग्रमा  नगरपालिकाको कुल ९०,९५६ जनसङ्ख्याको १५ देखि ६० वर्ष उमेर समूहका ५,६०६ निरक्षरमध्ये २७३७ जनाले मापदण्ड अनुसारका ५० प्रतिशतभन्दा बढी सक्षमताहरु हासिल गरी नगरपालिकाको कुल साक्षरता ९६.८५ प्रतिशत पुगेको र उक्त उमेर समूहका सनसङ्याको साक्षरता प्रतिशत ९५ प्रतितभन्दा बढी भएमा साक्षर नगरपालिका घोषणा गर्ने नीतिगत व्यवस्था भए अनुसार मिति २०७६ जेठ ३१ गतेका दिन कोहलपुर साक्षर नगरपालिका घोषणा गरिएको थियो ।  साक्षर नगरपालिका घोषणाको तथ्याङ्क अनुसार वडा नं. १ मा ९९.२४,  वडा नं. २ मा ९८.९७, वडा नं. ३ मा ९६.९६, वडा नं. ४ मा ९२.९७, वडा नं. ५ मा ९७.६८,  वडा नं. ६ मा ९९.४०, वडा नं. ७ मा ९६.२३ र वडा नं. ८ मा ९४.३० प्रतिशत जनसङ्ख्या साक्षर रहेका छन् । यसैगरी वडा नं. ९ मा ९८.७०,  वडा नं. १० मा ९६.४८, वडा नं. ११ मा ९६.२२, वडा नं. १२ मा ९६.९३, वडा नं. १३ मा ९६.००, वडा नं. १४ मा प्रतिशत ९१.०० र वडा नं. १५ मा ९९.६१ प्रतिशत जनसङ्ख्या साक्षर छन् । यसपछि ९५ प्रतिशतभन्दाबढी साक्षर हुन बाँकी वडाका र नगरपालिकाका सबै उमेर समूहका निरक्षर जनसङ्ख्यालाई साक्षर गराउने विशेष कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ ।
  6. सार्वजनिक गुठीका रुपमा सञ्चालित संस्थागत विद्यालय : सामुदायिक गुठीका रुपमा कोहलपुर माध्यमिक विद्यालय (कक्षा १-१०) सञ्चालनमा छ । कोहलपुर वार्ड नं. २ स्थित साविकको नेपाल सशस्त्र प्रहरीको ब्यारेक रहेको स्थानमा गतवर्ष २०७७ मा नेपाल एपीएफ स्कुल स्थापना भएको छ । नेपाल एपीएफ स्कुल नेपाल सशस्त्र प्रहरीबाट सञ्चालन हुने गुठी विद्यालय हो ।
  7. निजीक्षेत्रबाट सञ्चालित संस्थागत विद्यालय : निजी क्षेत्रबाट प्ले ग्रुप तथा मन्टिसोरी विधिका पूर्वप्राथमिक तहका ९ वटा, कक्षा १-८ वटा र कक्षा १-१० वटा गरी कुल ५५ वटा विद्यालयहरु सञ्चालनमा रहेका छन् । अनुमति पाएका ३ वटा विद्यालयहरु सम्पर्कमा रहेका छैनन् । यीमध्ये ५२ वटामा नर्सरी र केजी कक्षा, ५ वटा कक्षा २ सम्म, ३ वटामा कक्षा  ३ सम्म, १४ वटामा कक्षा ५ सम्म, एक वटामा कक्षा ७ सम्म, ३ वटामा कक्षा ८ सम्म, २४ वटामा कक्षा  १० सम्म र ७ वटामा कक्षा १२ सम्म पठनपाठन हुन्छ। उक्त विद्यालयमा पूर्वप्राथमिक तहमा ६९३० जना, कक्षा १ देखि ५ सम्ममा ८८१९ जना, कक्षा ६ देखि ८ सम्ममा ३१९२ जना, कक्षा ९ र १० मा १५२८ जना, कक्षा ११ र १२ मा १४९३ जना कुल २१९६२ जना विद्यार्थीहरु अध्ययनरत छन् ।
  8. विश्वविद्यालय तहको शिक्षा : वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा रहेको एक मात्र मध्यपश्चिमाञ्चल विश्वविद्यालयको एक आङ्गिक क्याम्पस हो । कक्षा ११ देखि स्नातकोत्तर तहसम्म पठनपाठन हुने उक्त क्याम्पसमा हाल १३५० जना विद्यार्थीहरु अध्ययनरत छन् ।
  9. निजी क्षेत्रबाट सञ्चालित उच्च शिक्षा: निजीक्षेत्रबाट काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एक मेडिकल कलेज (नेपालगन्ज मेडिकल कलेज, कोहलपुर ), दुई वटा नर्सिङ कलेज (नेपालगन्ज मेडिकल कलेज नर्सिङ कलेज र लर्ड बुद्ध नर्सिङ कलेज) र ३ वटा बहुमुखी क्याम्पस (कोहलपुर मोडेल कलेज, न्यू--वागेश्वरी एकेडेमी कलेज र डाइनामिक कलेज) हरु सञ्चालनमा रहेका छन् । मेडिकल कलेजमा एम.बी.बी.एस.तथा पोस्ट-ग्र्याजुएट तहसम्म र नर्सिङ कलेजमा पी.सी.एल. एवं स्नातक तहसम्म नर्सिङ पठनपाठन हुन्छ । निजी क्षेत्रका बहुमुखी क्याम्पसहरुमध्ये एकमा कक्षा ११ देखि र अन्यमा स्नातक तहदेखि स्नातकोत्तर तहसम्म शिक्षा, व्यवस्थापन आदि सङ्कायमा पठनपाठन हुन्छ । उक्त बहुमुखी क्याम्पसहरुमा हाल १५०० भन्दाबढी विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । मेडिकल कलेजमा स्वदेशका विभिन्न भाग र विदेश (भारत, बङ्गलादेश र भुटान) बाट समेत विद्यार्थीहरु चिकित्साशास्त्र अध्ययन गर्न आउँछन् ।
  10. प्राविधिक शिक्षा र व्यवसायिक तालिम : लक्ष्मी माध्यमिक विद्यालयमा १५८ जना कृषि विषयमा प्राविधिक धार सञ्चालन भएको छ । गोर्खा युनाइटेड इङ्लिस मिडियम स्कुल (माध्यमिक विद्यालय) मा स्नातक तहको वन विज्ञान सङ्काय सञ्चालनमा छ । दुईवटा सामुदायिक माध्यमिक विद्यालय (त्रिभुवन मावि र ज्ञानज्योति मावि) हरुमा सी.टी.ई.भी.टी.का १८ महिने र ३ वर्षे प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका कार्यक्रमहरु सञ्चालनमा रहेका छन् ।

शैक्षिक सङ्घ,संस्था तथा केन्द्रहरु

  1. सामुदायिक सिकाइ केन्द्र : सामुदायिक साक्षरता, निरन्तर शिक्षा, अनौपचारिक शिक्षा तथा सामुदायिक सचेतीकरण र आयआर्जन सम्बन्धी आधारभूत ज्ञानसीप विकासका कार्यक्रमहरु सञ्चालन गर्नका लागि एक सामुदायिक सिकाइ केन्द्र रहेको छ ।
  2. विद्यार्थी लेखाजोखा केन्द्र : कोहलपुर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा एक विद्यार्थी लेखाजोखा केन्द्र रहेको छ । यसले सामुदायिक तथा संस्थागत विद्यालयहरुमा अध्ययन गर्ने शारीरिक तथा बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको अपाङ्गता सम्बन्धी लेखाजोखा राख्न तथा पढाइ लेखाइ र छात्रवृत्ति र सरकारी एवं गैरसरकारी तहबाट प्रदान गरिने सेवा सुविधा सम्बन्धमा प्राविधिक परामर्श सेवा प्रदान गर्ने काम गर्दछ ।
  3. विद्यालय बाहिर अध्यापन सेवा प्रदान गर्ने संस्थाहरु :  कोहलपुर आसपासका गाउँ तथा पहाडी जिल्लाहरुबाट आएर अध्ययन गर्ने विद्यार्थी र विभिन्न सरकारी र गैरसरकारी सेवामा प्रवेश गर्ने उम्मेद्वारहरुको लागि तयारी कक्षा लिने युवाहरुको लागि शैक्षिक हब बन्दै गएको शहर हो । यसकारण यहाँ थुप्रै विद्यालय र क्याम्पसका कोचिङ कक्षा र तयारी कक्षा सञ्चालन गर्ने र सुचना प्रविधिसम्बन्धी कम्प्युटर तालिम दिने संस्थाहरु रहेका छन् । यसैगरी यहाँ ड्राइभिङ तालिम, सिलाइकटाइ तालिम, फाइन आर्ट तालिम, वाद्यवादन, गीत र नृत्यसम्बन्धी तालिम र उद्घोषण र वक्तृत्वकला सम्बन्धी तालिम र रेडियो कार्यक्रम प्रस्तोता सम्बन्धी तालिम र अनौपचारिक शिक्षा प्रदान गर्ने संस्थाहरु रहेका छन् ।
  4. पुस्तकालय: ज्ञानोदय पुस्तकालय कोहलपुरमा रहेको एक मात्र पुस्तकालय हो । वि.सं. २०५८ सालमा स्थापित यस पुस्तकालयले दैनिक ७०,८० जना स्थानीय नगरवासी, प्रबुद्धवर्ग लगायत बालबालिका र विद्यार्थीहरुलाई नि:शुल्क रुपमा इन्टरनेट सर्च,  वाइफाइ प्रयोग, कम्प्युटर खेल, पत्रपत्रिका, सन्दर्भ सामग्री र पाठ्यपुस्तकको अध्ययन गर्ने आदिजस्ता सेवाहरु प्रदान गर्दछ । यसका अतिरिक्त पुस्तकालयले समुदायमा घुम्ती पुस्तकालय स्थापना गर्ने, वडाहरुमा किशोरी सञ्जाल गठन गर्ने, सामाजिक कुरीति तथा मानव बेचबिखनविरुद्ध सचेतीकरण लगायत विद्यार्थीहरुका लागि हाजीरी जवाफ, वक्तृत्वकला आदि कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । संस्थागत, आजीवन र साधारण गरी ८१२ जना सदस्यहरु रहेको यस पुस्तकालयका बालविकास कक्ष, कम्प्युटर कक्ष, प्राविधिक कक्ष, महिला कक्ष, सङ्गीत कक्ष र पुस्तकालय कक्षहरुबाट आवश्यक सेवा प्रवाह हुने गरेको छ । १२ हजारभन्दा बढी पुस्तक, ८ वटा डेस्कटप कम्प्युटरहरु, एक वाचनालय र एक सभाहल समेत रहेको यस पुस्तकालयले कोहलपुरका नागरिकहरुमा पठन संस्कृतिको विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । यसैगरी यस पुस्तकालयले कृषक समूहहरु गठन गरी कृषि, पशु, जलवायु परिवर्तन तथा विपद व्यवस्थापन विषयमा प्राविधिक ज्ञान दिँदै आएको छ । यस पुस्तकालयमा कोहलपुर नगरपालिकाको नगर सुचना केन्द्र समेत रहेको छ ।
  5. कोहलपुर क्षेत्र संस्थागत विद्यालय-क्रिसा(KRISA): क्रिसा कोहलपुरमा वि.सं. २०६५ मा स्थापना भएको संस्थागत विद्यालयहरुको एक स्थानीय साझा सङ्गठन हो । यस सङ्गठनले राष्ट्रिय संगठन प्याबसन र नेशन प्याबसनका पालिका स्तरिय कमिटी सँग समन्वय र सहकार्य गरी एक साझा मञ्चको रुपमा आफ्ना शैक्षिक तथा प्रवर्तनात्मक कार्यहरु गर्दै आएको छ । निजीक्षेत्रबाट स्थापित विद्यालयहरु लगायत समग्र कोहलपुरको शैक्षिक विकास तथा उन्नतिमा कोहलपुर नगरपालिकासँग सहकार्य गरी विद्यार्थीहरुको सर्वपक्षीय विकासका लागि निरन्तर आफ्नै शैक्षिक क्यालेन्डरमा समावेश गरी KRISA रनिङ शिल्ड खेलकुद प्रतियोगिता, वक्तृत्वकला, हाजिरीजवाफ प्रतियोगिता, आदिजस्ता रचनात्मक कार्यहरु गर्दै आएको छ । यस संस्थाले कोहलपुर नगरपालिका शिक्षा शाखाको भौतिक र शैक्षिक सुदृढीकरणका लागि समेत आवश्यक सहयोग र सहकार्य गर्दै आएको छ भने बिभिन्न सामाजिक कार्यहरूमा समेत स्थानीय सरकारको समन्वयमा गर्दै आइरहेको छ।
  6. प्रस्तावित शिक्षक केन्द्र : त्रिभुवन माध्यमिक विद्यालयको हातामा रहेको साविकको स्रोतकेन्द्र भवनलाई नगरपालिका शिक्षक केन्द्रको रुपमा विकास गर्ने सोच रहेको छ । यसलाई विषयगत शिक्षक केन्द्रको छाता सङ्गठन बनाउने र कोहलपुर नगरपालिका क्षेत्रका शिक्षकहरुको पेसागत क्षमता विकास गर्ने शिक्षा शाखाको एक विस्तारित शाखाको रुपमा स्थापित गरिएको छ । प्रस्तावित शिक्षक केन्द्रको कर्मचारी सङ्गठन ढाँचा, खाका र सञ्चालन तथा व्यवस्थापन कार्यविधिको मस्यौदा निर्माण गर्ने कार्य भइरहेको छ ।
  7. विषयगत शिक्षक सिकाइ केन्द्र:  कोहलपुर नगरपालिका क्षेत्रका विषयगत शिक्षकहरुकव पेसागत क्षमता विकासका लागि विषयगत शिक्षक सिकाइ केन्द्रहरु सञ्चालन गर्ने सोच रहेको छ । यसका लागि हाल ५ वटा माध्यमिक विद्यालयहरुमा ५ वटा अनिवार्य विषयका केन्द्रहरु तोकिएको छ । विषयगत सिकाइ केन्द्रका प्रअले नै विषयगत शिक्षक भेलाको संयोजन गर्ने योजना छ । हाल सबै विषयगत शिक्षक सिकाइ केन्द्र रहेका पाँचै वटा विद्यालयहरुमा पहिलो चरणको तयारी बैठकहरु सम्पन्न भइसकेका छन् । साथै विषयगत शिक्षक समिति र माध्यमिक तहका एक जना र आधारभूत तहका एक जना विज्ञ शिक्षक छनोट गर्ने कार्य भएको छ । आपसी चिनाजानी गर्ने, दैनिक पठनपाठन कार्यसँग सम्बन्धित विषयहरुमा आपसी छलफल गर्ने र विषयगत शिक्षणमा आइपरेका दुविधायुक्त तथा विवादास्पद विषयवस्तुहरुको निर्क्यौल गर्ने, लघुतालिमहरु सञ्चालन गर्ने, असल अभ्यासहरुको अनुभव आदानप्रदान गर्ने उद्देश्यले यस विषयगत शिक्षक सिकाइ केन्द्रको स्थापना गर्ने सोच बनाइएको हो । यसको कार्यविधि तयार गरी नगरपालिकामा अनुमोदनका लागि पेस गरिनेछ ।
  8. नेपाली महिला क्रिकेट : नेपालमै सबैभन्दा पहिले महिला क्रिकेट खेलको शुरुआत कोहलपुरबाट भएको हो । वि.सं. २०६१ फागुन १५ गते कोहलपुरको प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा छात्राहरुको पहिलो क्रिकेट खेल प्रतियोगिता आयोजना भएको थियो । क्षेत्रीय क्रिकेट विकास समिति क्षेत्र नं ५ र प्लान नेपालको आर्थिक सहयोगमा आयोजित उक्त प्रथम छात्रा (महिला) क्रिकेट प्रतियोगितामा बाँके जिल्लाका २९ वटा विद्यालयका ४३५ जना छात्राहरुको सहभागिता रहेको थियो । उक्त प्रतियोगिताले बसालेको जगमा मलेशियामा सन् २००७ मा आयोजना भएको प्रथम एशियन क्रिकेट काउन्सिल महिला च्याम्पियनसिपमा नेपाल सहभागी भई उपविजेता हुँदै इतिहास रच्न सफल भएको थियो । उक्त खेलमा महिला क्रिकेटका कप्तान समेत ७ जना बाँकेका थिए । यसमा तीन जना कोहलपुरका थिए। त्यस मध्ये ममता थापा मगर उप-कप्तान समेत भइन् । महिला क्रिकेट विकासको सम्भावनालाई ध्यानमा राखी कोहलपुर नगरपालिकाले आ.व.२०७४/०७५ मा नेपालमा पहिलो पटक उपमेयर-कप अन्तर मावि छात्रा क्रिकेट खेल प्रतियोगिताको आयोजना गर्यो । उक्त क्रिकेट प्रतियोगितामा ११ विद्यालयका १५४ जना छात्राहरु सहभागी भएका थिए, जसमा जनज्योति मावि विजेता र ‍‌‌‌‌ त्रिभुवन मावि (सामुदायिक विद्यालय) रनर-अप घोषित भए । यसपछि नगरपालिकाले कोहलपुरमा महिला क्रिकेटको विकास गर्ने अभिप्रायले हरेक आर्थिक वर्षमा उपमेयर-कप क्रिकेट प्रतियोगिताका लागि वार्षिक कार्यक्रम र बजेट विनियोजन गर्दै आएको छ । कोहलपुरलाई महिला क्रिकेटको उद्गमस्थल बनाउन र महिला क्रिकेटलाई आजको यस अवस्थामा ल्याउन नेपाली महिला क्रिकेटका पिता भनेर पहिचान बनाएका पूर्वकप्तान  लेख बहादुर क्षेत्रीको योगदान अतुलनीय छ ।
  9. मन्टिसोरी एसोसिएसन बाँके: मन्टिसोरी (Montessori) एसोसिएसन बाँके वि.सं. २०७५ मा विधिवत् रुपमा स्थापना भएको निजीक्षेत्रबाट सञ्चालित पूर्व प्राथमिक तहका विद्यालयहरुको संस्था हो । पूर्वप्राथमिक विद्यालयका प्लेग्रुप, नर्सरी, यूकेजी, एलकेजी कक्षाहरुमा मन्टिसोरी विधिको प्रभावकारी प्रयोग, विकास र प्रबर्द्धन गर्ने  र मन्टिसोरी विद्यालयहरुको संरक्षण र प्रबर्द्धन गर्ने अभिप्रायले स्थापना भएको यस संस्थाको जिल्ला कार्यालय कोहलपुरमा रहेको छ । यस संस्थाले अभिभावक उत्प्रेरणा, मन्टिसोरी शिक्षण विधिका महिला शिक्षकहरुको तयारी, महिला शिक्षकको क्षमता अभिवृद्धि, नमुना मन्टिसोरी शिक्षण विधिको प्रदर्शन, मन्टिसोरी विधिका शैक्षिक सामग्रीको प्रदर्शनी, बालबालिकाहरुको व्यक्तित्व विकास र क्षमता अभिवृद्धि आदिजस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । स्मरणीय छ : पाँच वटा ज्ञानेन्द्रियहरुको अनुभव (सुनेर, छोएर, हेरेर, चाखेर र सुँघेर) का आधारमा गरिने मन्टेसोरी शिक्षण विधिलाई नै मन्टिसोरी शिक्षण विधि भनिन्छ । यस विधिका प्रवर्तक इटालीका डा. मारिया मन्टिसोरी  (इ.सं.१८७०-१९५२) हुन् । विश्वका धेरैवटा देशहरुमा प्रचलनमा आएको मन्टिसोरी शिक्षण विधि नेपालमा सन् २००१ देखि शुरु भएको मानिन्छ । बाँके जिल्लामा वि.सं. २०६७ मा पहिलो मन्टिसोरी विधिको विद्यालय स्थापना भएको थियो ।

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.